कटारीका मेयरले कोरोना जिते

२0७७ कार्तिक १७ सोमबार
कटारीका मेयरले कोरोना जिते

कटारी नगरप्रमुख कोरोनामुक्त
कटारी (उदयपुर), कात्तिक १७


कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएको १४ दिनपछि गरेको स्वा परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै आफु संक्रमणमुक्त भएको मेयर श्रेष्ठले बताए । 


कात्तिक ४ गते संक्रमण देखिएपछि उनी काठमाडौंस्थित निवासमा ‘होम आईसोलेसन’मा बसेका थिए । शुक्रबारको परीक्षण रिपोर्टले आफु संक्रमणमुक्त भएको र नगरपालिकाको नियमित काममा फर्कने तयारीमा रहेको श्रेष्ठले बताए । उनी मंगलबार नगरपालिका फर्केर जनताको काममा जुट्ने बताए ।


कोरोना भाईरस सामान्य रुघाखोकीभन्दा निकै कडा हुने अनुभव सुनाउँदै उनले बेसार पानी, गुर्जो, ज्वानो, महलगायत भिटामिनयुक्त घरेलु औषधि र खानेकुरा खाएरै कोरोनालाई परास्त गरेको बताए । संक्रमण भएपछि ज्यु दुख्ने, टाउको दुख्ने, रुघाखोकीजस्तो हुने र शरिर कमजोर हुने लक्षण पाएको उनको भनाई छ । 


मेयर श्रेष्ठले संक्रमण भएको अवस्थामा आफुमाथि सदासयता देखाउँदै स्वास्थ्य लाभको कामना गर्ने नगरबासी, शुभचिन्तक आफन्त र साथीभाई तथा उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मी सबैलाई धन्यबाद दिएका छन् । उनले कोरोना भाईरस समुदायस्तरमै पुगिसकेकाले अझै जोखिम कायमै रहेकाले सुरक्षा सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरेका छन् ।