एभरेष्ट भ्युटपमा हिमाल हेर्ने पर्यटक बढ्दै

२0७७ कार्तिक १७ सोमबार
एभरेष्ट भ्युटपमा हिमाल हेर्ने पर्यटक बढ्दै

महेश्वर चामलिङ
भोयोचुङ,  कात्तिक १७


लिमचुङबुङमा प्रस्तावित पर्यटन केन्द्र ‘एभरेष्ट भ्युटप’ क्षेत्रमा हिजोआज पर्यटकको आगमन बढ्दै गएको छ । लिमचुङबुङ गाउँपालिका ३ को आकर्षक प्राकृतिक छटाले भरिएको भोयोचुङ (दोबाटे) डाँडामा निर्माण कार्यसमेत थालिएको भ्युटपमा कोरोना कहरका बाबजुद पनि पर्यटकहरुको ओईरो लाग्न थालेको छ । 


अध्यक्ष मेजरकुमार राईको परिकल्पना अनुसार ३ वर्षअघि सो ठाउँलाई पर्यटन केन्द्र बनाउने उदेश्यले एभरेष्ट भ्युटप निर्माण गर्ने प्रक्रिया गाउँपालिकाले अघि बढाएको थियो । १ सय रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा भ्युटप निर्माण गर्ने गरी सुनसरीका पर्याइन्जियिनर विक्रमश्रीले आकर्षक भ्यु टावरको नक्शा डिजाईन गरेका थिए । सो नक्शालाई गाउँपालिकाले पारित गरेर विस्तृत परियोजना प्रतिबेदन (डिपिआर)समेत गाउँपालिकाले २ वर्षअघि नै तयार गरिसकेको छ । तर, आवश्यक जग्गा व्यवस्थापनको प्रक्रियामा उल्झन आएपछि भ्युटावर निर्माणको काममा अवरोध आएको अध्यक्ष राईले बताएका छन् । 


भ्युटावरको प्रस्ताव अघि बढेसँगै वर्षौंदेखि बाँझो छाडिएको खुल्ला चौर दर्जन बढीको स्वामित्वमा रहेको पाइएपछि गाउँपालिकाले मुआब्जा दिएर अधिग्रहण गर्ने प्रस्ताव अघि सार्यो । तर, केही जमिन धनीले गाउँपालिकाको प्रस्तावप्रति असहमति जनाएपछि काम अघि बढाउन कठिनाई भएको अध्यक्ष राईको गुनासो छ । राईका अनुसार एकवर्षअघि जिल्ला प्रशासन कार्यालयमा भएको गाउँपालिका, जमिन धनी र तत्कालीन प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्काबीच भएको त्रिपक्षीय छलफलमा भ्युटावर बनाउन आवश्यक जमिन दिन मञ्जुर भएकाहरु पनि अहिले आनाकानी गरेपछि सोँचेजस्तो छिटो काम अघि बढाउन सकिएको छैन । 


सो ठाउँमा भ्युटावर बनाएरै छाड्ने अध्यक्ष राईले बताएका छन् । ‘यो मेरो ड्रिम प्रोजेक्ट हो, त्यसैले ढिलो चाँडो भ्युटावर बनाएरै छाड्छु’ अध्यक्ष राईले दृढता व्यक्त गरे ‘अहिले जमिन व्यवस्थापनलगायत केही कुरामा तालमेल नमिलेर मात्र काम सुरु गर्न कठिनाई आईपरेको हो ।’ अध्यक्ष राईले एभरेष्ट भ्युपटलाई लिमचुङबुङ गाउँपालिकाको ‘आईकन प्रोजेक्ट’को रुपमा अथ्र्याएका छन् । भ्युटावर लिमचुङबुङको मुख्य आयआर्जनको माध्याम र पहिचानको समृद्धिको आधार बनाउने योजना उनको छ । 


दसैं तिहारयता दैनिक २÷३ सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भ्युटावर हेर्न आउने गरेका छन् । टाढाटाढाबाट घुम्न आउने पर्यटकलाई गाउँपालिकाले सहजीकरण गरिदिने गरेको प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले बताए । उनका अनुसार पछिल्लो समय इलाम, झापा, संखुवासभा, पाँचथर, सुनसरी, मोरङ र ताप्लेजुङबाट पर्यटकको फरक फरक टोली आएर भ्युटावरको अवलोकन गरेर फर्केको छ । 


अधिकृत लिम्बुले सगरमाथालगायत नेपालका प्रमुख हिमश्रृङ्खला सबै स्पष्ट देखिने भएकाले सो ठाउँ हिमाल दृष्यावलोकनका लागि प्रमुख ठाउँ रहेको बताए । समुद्री सतहदेखि २ हजार ३ सय मिटर उचाईमा रहेको सो ठाउँ स्वच्छ वातावरण, चिसो हावा र चारैतिरको दृष्य सफा र स्पष्ट देखिने भएकाले अुनपम दृष्यको रस्वास्वादन लिने अमूल्य ठाउँ भएको लिम्बुले बताए । कोरोनाका कारण मानव चलखेलमा संकुचन आएकाले भनेजस्तो पर्यटक आउन नपाएको बताइएको छ । कोरोना महामारी नभएको भए यतिखेरसम्म सो ठाउँ पर्यटकीय केन्द्र बनिसक्ने गाउँपालिकाको दावी छ । 


गाउँपालिकाकी कर्मचारी रुपा चामलिङका अनुसार दैनिक पर्यटकहरु घुम्न आउने भए पनि खासगरी शनिबार धेरै जमघट हुने गरेको छ । शनिबार बिदा हुने भएकाले खासगरी आन्तरिक पर्यटकहरु तल्लो (बेंसी) भूभागबाट आन्तरिक पर्यटक आउने गरेको उनले बताईन् । उनका अनुसार बाहिर जिल्लासँगै सदरमुकाम गाईघाटबाट धेरै पर्यटक घुम्न आउन  थालेका छन् भने अन्तरपालिकाका पर्यटकहरु उत्तिकै आउने गरेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा रहेको प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आउजाउ गर्ने मुख्य नाका भएकाले पनि भविष्यमा भोयोचुङ र एभरेष्ट भ्युटप स्थल प्रमुख पर्यटन केन्द्र बन्ने संभावना रहेको छ । 


गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले प्रस्तावित एभरेष्ट भ्युटपका लागि गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गरेको बताए । उनका अनुसार जमिन व्यवस्थापन हुन बाँकी रहेकाले यति नै बजेट भनेर किटान नगरिए पनि आवश्यक्ता अनुसार खर्च गर्नेगरी गाउँसभाले बजेट व्यवस्था गरेको छ । त्यसबाहेक प्रदेश र संघीय सरकारसँग पनि बजेट माग गरिएको छ । जग्गा व्यवस्थापन हुनेबित्तिकै चाहिदो बजेट व्यवस्था गरेर क्रमागत योजनाको रुपमा भ्युटावरको निर्माण गरिने अधिृकत राईले बताए ।