आचार संहिता नमान्ने प्रहरीलाई कडा कारबाही हुने

२0७७ कार्तिक १६ आईतवार
आचार संहिता नमान्ने प्रहरीलाई कडा कारबाही हुने

विराटनगर, कात्तिक १६

नेपाल प्रहरीका १ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) इश्वरबाबु कार्कीले प्रहरी आचार संहिताबिपरीत कार्य गर्ने जुनसुकै प्रहरी कर्मचारीमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन् । मोरङ जिल्लाका सीमावर्ती प्रहरी युनिट प्रमुख तथा सहायकहरुलाई आईतबार १ नम्बर प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा ‘प्रहरी आचार संहिता कार्यादेश २०७७’ को बारेमा निर्देशन दिने क्रममा उनले सो चेतावनी दिएका हुन् । 


डिआईजी कार्कीले प्रहरी महानिरीक्षकले स्वीकृत गरेको कार्यादेश नमान्नेहरु कडा कारबाहीको भागीदार बन्नुपर्ने चेतावनी दिदै प्रहरी निश्कलंक भए मात्र समाजमा शान्ति र अमनचयन कायम हुनसक्ने बताए । नेपाल प्रहरी संगठनले स्वीकृत गरेको आचार संहिता अक्षरशः पालना गर्नु जुनसुकै प्रहरी कर्मचारीको दायित्व हुने भन्दै उनले कसैले उल्लंघन गरे त्यस्तामाथि कडा कारबाही हुने चेतावनी दिए । ‘संगठनको कार्यादेशविपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियामावली बमोजिम कारवाही हुन्छ’ डिआईजी कार्कीको भनाई थियो । 


कार्कीले झापा जिल्लाका सीमावर्ती प्रहरी युनिट प्रमुख तथा सहायकहरुलाई पनि आईतबारै इलाका प्रहरी कार्यालय अनारमनीमा सोही प्रकृतिको निर्देशन दिएका छन् । चाडवाडको समयमा खुल्ला सीमानाको फाईदा उठाउँदै हुनसक्ने अवैध चोरी निकासी तथा अन्तरदेशीय अपराध नियन्त्रणमा कडाईका साथ कार्य सम्पादन गर्न पन िउनले मातहतका प्रहरीलाई निर्देशन दिए । 


कतिपय प्रहरीमाथि सीमाक्षेत्रमा हुने अबैध चोरी निकासी र पैठारीमा मिलेमतो गर्ने गरेको तथा आर्थिक प्रलोभनमा परेर कमजोर कार्य सम्पादन गर्ने गरेकोतर्फ सचेत गराउँदै उनले त्यस्तो प्रबृत्तिबाट टाढै रहन निर्देशन दिए । उनले कसैले यस्तो कमजोरी गरेको पाइए त्यस्ता प्रहरीमाथि प्रहरी नियमावली अनुसार कडा कारवाही गर्ने चेतावनी दोहोर्याए ।