लिमचुङबुङको आगलागी पीडितलाई गाउँपालिकाको राहत

२0७७ कार्तिक १६ आईतवार
लिमचुङबुङको आगलागी पीडितलाई गाउँपालिकाको राहत

उदयपुर, कात्तिक १६

अघिल्लो दिन आगलागीमा परी पीडित परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छ । जिल्लाको पहाडी गाउँपालिका लिमचुङबुङ४ बलम्ता लाकुका आगलागी पीडित दुई परिवारलार्य गाउँपालिका अध्यक्ष मेजरकुमार राई स्वयं उपस्थ्ति भएर राहत प्रदान गरेका हुन् । 

अध्यक्ष राई र विपत व्यवस्थापन समिति संयोजक भुपाल खड्कासहितको टोली पीडितको घरमै पुगेर चामल, दाल, नुन, तेललगायत खाद्यान्न सामग्री प्रदान गरेको वडाध्यक्ष यन्डप्रसाद राईले बताए । उनका अनुसार अन्य सरोकारवाला निकायसमक्ष पनि राहतका लागि सिफारिस गरिएको छ । 

शनिबार विहान घरमा कोही नभएका बेला भएको आगलगीमा परी उदेशबहादुर राईका दुई घर र मतान तथा भाइ देवबहादुरको गोठ जलेर नष्ट भएको थियो । लागलागीका कारण फुसको छाना भएका घर, मतान जल्न पुग्दा त्यसभित्र रहेका अन्नपात, भाँडावर्तन, लुगाफाटा र नगद तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको स्थानीय गणेश राईले बताए । उनका अनुसार गोठ जल्दा त्यसभित्र बाँधेर राखेका ८ वटा गाउँ र ८ वटा खसी बाख्रासमेत जलेर क्षति पुगेको थियो ।    ११ः०० बजे गोठबाट एक्कासी सल्केको आगोले गोठ, मतान र घरभित्र रहेको १० मुरी मकै, १२ मुरी धान, २५ हजार नगद, नागरिक्ता, जन्मदर्ता, जग्गा धनीपुर्जालगायत महत्वपूर्ण कागजात जलेको पीडितका छिमेकी तथा गाउँ कार्यपालिका सदस्य जानुका राईले बताईन् । चर्को घाम लागेका बेला भएको आगलागी नियन्त्रण गर्न गाउँभरीका मान्छे भेला भएर लगभग ३ घण्टाको प्रयासपछि संभव भएको राईले बताईन् ।

लिमचुङबुङ इलाका प्रहरी कार्यालय बाराहाबाट आएको टोलीले स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का गरेर फर्केपछि गाउँपालिका अध्यक्ष र बिपत व्यवस्थापन समिति संयोजकसहितको टोली आएर पीडितको घरमै राहत प्रदान गरेको वडाध्यक्ष राईले बताए । आगलागीपछि १० जनाको पीडित परिवारलाई तत्काललाई छिमेकीहरुको घरमा सरण दिएर राख्नु परेको वडाध्यक्ष राईले बताए । 

प्रहरीका अनुसार २१ लाखभन्दा बढी क्षति भएको पीडितहरुको उद्धार र राहतका लागि गाउँपालिकाले अन्य सरोकारवाला निकायसमक्ष सिफारिससहित आग्रह गरेको जनाएको छ ।