ताप्लीमा ४ हजार बोट गाँजा फँडानी

२0७७ कार्तिक १५ शनिबार
ताप्लीमा ४ हजार बोट गाँजा फँडानी

उदयपुरको ताप्ली गाउँपालिकामा लगाइएको ४ हजार बोट अवैध गाँजा खेती प्रहरीले फँडानी गरेर नष्ट गरेको छ । ताप्ली गाउँपालिका ५ रुपाटार प्रहरी चौकीबाट खटेको टोलीले बिहीबारर शुक्रबार वडा नंं. ४ का लखनडाँडाको ६ रोपनीमा लगाइएको ३ हजार बोट र थुम्की र थानागाउँको २ रोपनी जमिनमा लगाइएको १ हजार बोट गाँजा नष्ट गरेको हो । 

जिल्लामा अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत टोली खटाएर गाँजा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसअघि जिल्लाको बेलका नगरपालिका ७ र ८ नं.वडामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो । बेलका ७ र ८ का बिभिन्न गाउँमा लगाइएको ३१ हजारभन्दा बढी बोट गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाबाट खटेको टोलीले दुई दिन लगाएर नष्ट गरेको थियो । 

पहाडी भेगमा मौलाउँदै गरेको गाँजा खेती नष्ट गर्ने क्रममा वर्षेनी प्रहरी परिचालन हुँदै आएको छ । वर्षेनी फँडानी गरेर नष्ट गर्ने गरे पनि खेती गर्ने क्रम भने नरोकिएको पाइएको छ । पहाडी भेगमा सिंचाई सुविधा नभएका कारण अन्नबाली राम्रो नहुने हुँदा कृषि उपजको उत्पादन कमी आउँदा स्थानीय गाँजा खेतीप्रति आकर्षित हुने गरेका छन् । नगदे बालीको रुपमा लिइने गाँजा कानुनी रुपमा वर्जित रहे पनि कारबाहीको जोखिम मोल्दै भए पनि किसानले आफ्नो बारीमा उत्पादन गर्ने गरेको पाइएको छ । 

गाँजालाई आम्दानीको राम्रो स्रोत मानेकै कारण गाँजा बिक्री तथा ओसारपसार र प्रयोगको आरोपमा वर्षेनी दर्जनौं व्यापारी, प्रयोगकर्ता र उत्पादकहरु पक्राउ पर्दै आएका छन् । उनीहरुमध्ये कतिपय वर्षौंसम्म जेल जीवन व्यतित गर्न बाध्य छन् भने कतिपय प्रहरी कस्टडीको कष्ट भोग्न र आर्थिकरुपमा जरिवाना तिर्न बाध्य हुँदै आएका छन् । कानुनी कारबाही भोग्ने क्रम चलिरहँदा पनि गाँजा खेती गर्ने क्रममा कमी नआउनुले गाँजालाई वैद्यता दिनुपर्ने आवाजसमेत पछिल्लो समय बाक्लो रुपमा उठ्न थालेको छ । 

प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले संसदमा गैरसरकारी विधेयक दर्ता गरेरै गाँजालाई कानुनी मान्यता दिदै करको दायरामा ल्याउन आग्रह गरेका छन् । उनको विधेयक संसदमा विचाराधीन अवस्थामा रहेको छ । खासगरी खपतको मुख्य बजार भारतीय सहर रहेको गाँजा खेतीलाई बैद्यता दिन सके किसानको आयआर्जन बढ्नुका साथै राजश्व संकलनमा पनि प्रसस्त मद्धत पुग्ने राय सामाजिक अगुवाहरुले नै गर्न थालेका छन् ।