लिमचुङबुङको वालाम्टोमा आगलागी  २ घर, गोठ र १६ गाई बाख्रा जलेर २१ लाख क्षति

२0७७ कार्तिक १५ शनिबार
लिमचुङबुङको वालाम्टोमा आगलागी  २ घर, गोठ र १६ गाई बाख्रा जलेर २१ लाख क्षति

उदयपुर, कात्तिक १५

 

उदयपुरको पहाडी गाउँपालिका लिमचुङबुङमा आगलागी हुँदा २ घर र एउटा गोठ जलेर क्षति भएको छ । लिमचुङबुङ ४ बलम्ताको लाकुस्थित उदेशबहादुर राईका दुई घर मतान तथा उनकै भाइ देवबहादुरको गोठमा लागेको आगोले घर, मतान, अन्नपात, नगद र चौपाया पशु जलेर क्षति पुगेको हो । 

 

विहान ११ः०० बजेतिर गोठबाट एक्कासी सल्केको आगोले फुसको छानो भएको गोठ, मतान र घर जलेर नष्ट भएको पीडितका छिमेकी गणेश राईले बताए । आगलागीबाट घरभित्र रहेको १० मुरी मकै, १२ मुरी धान, २५ हजार नगद, नागरिक्ता, जन्मदर्ता, जग्गा धनीपुर्जालगायत महत्वपूर्ण कागजात सबै नष्ट भएको उनले बताए । 

 

त्यस्तै आगोले गोठमा बाँधिराखेका उदेश, दाजु गुरुबहादुर र भाइ देवबहादुरका ८ वटा गाई र ८ वटै खसी बाख्रासमेत जलेर मरेका छन् । मध्यान्हको समय परेकाले चर्को घाममा लागेको आगो निभाउन निकै सकस परेको थियो । गाउँभरीका मान्छे भेला भएर लगभग ३ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएको स्थानीय जनप्रतिनिधि गाउँ कार्यपालिका सदस्य जानुका राईले बताईन् ।    

 

घट्नाबारे जानकारी दिएपछि लिमचुङबुङ इलाका प्रहरी कार्यालय बाराहादेखि टोली आएर स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का गरेर फर्केको वडाध्यक्ष यन्डप्रसाद राईले बताए । उनका अनुसार आगोले घर, मतान र गोठ जलेर नष्ट भएपछि पीडित परिवारका १० सदस्यलाई छिमेकीहरुको घरमा सरण दिएर राख्नु परेको छ । पीडितहरुका लागि तत्काल राहतको व्यवस्था गर्न वडा कार्यालयले गाउँपालिका र सम्बन्धित निकायसमक्ष सिफारिस गरिएको वडाध्यक्ष राईले बताएका छन् ।