उपचारको नाममा यौन शोषण गर्ने ‘माता’ र 'धामी'पक्राउ

२0७७ कार्तिक १५ शनिबार
उपचारको नाममा यौन शोषण गर्ने ‘माता’ र 'धामी'पक्राउ

महेश्वर चामलिङ
उदयपुर, कात्तिक १३

विरामी निको पार्ने भन्दै महिलामाथि यौन शोषण गरेको आरोपमा उदयपुर प्रहरीले तथाकथित ‘माता’ र ‘धामी’लाई पक्राउ गरेको छ । विरामी भई उपचार गर्न आउने महिलालाई भुतप्रेत र इश्वर लागेको भन्दै घरको कोठाभित्र बनाइएको मन्दिरभित्र लगेर उपचारको बहानामा यौन शोषण गर्ने तथा आर्थिक दोहन गर्ने त्रियुगा नगरपालिका १० का अर्जुन भन्ने धामी चुडामणि श्रेष्ठ र माता जुना राई पक्राउ परेका हुन् । 

४५ वर्षीया राईले विगत १३ वर्षदेखि आफुमा माता उत्रिएको र ३९ वर्षीय श्रेष्ठले धामी भएको प्रचार गर्दै जुनसुकै रोग झारफुक गरेर निको पार्ने बताउँदै आएको स्थानीयको भनाई छ । दुवैको मिलेमतोमा राईकै घरको एउटा कोठामा मन्दिर बनाएर उपचारार्थ सम्पर्कमा आउने विरामीलाई निको पार्ने आश्वासन दिदै झारफुक गर्ने र मोटो रकम लिएर यौन शोषण गर्ने गरेको सुराकीको आधारमा उनीहरु पक्राउ परेको प्रहरी भनाई छ । पछिल्लो समय दुई महिलामाथि यौन शोषण गरेको प्रमाणित भएपछि गत सोमबार उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए ।  

उनका अनुसार माता र धामी दुवैले झारफुक गरे निको हुने विश्वासका साथ उपचारार्थ सम्पर्कमा आएका महिला र २२ वर्षीया युवतिलाई मन्दिरभित्र लगेर बिभिन्न धाकधम्की दिएर निरबस्त्र पार्दै श्रेष्ठले यौन शोषण गरेको प्रारम्भिक बयानबाट खुलेको एसपी दाहालले बताए । धामी र माताको उपचारपछि घर फर्केका उनीहरु त्यसपछि पनि निको नभएपछि आफन्तले उपचारार्थ जिल्ला अस्पताल लाँदा उनीहरुको कर्तुत बाहिर आएको दाहखलले बताए । 

एसपी दाहालका अनुसार उनीहरुलाई राईको घरको कोठामा श्रेष्ठ आफैले बनाएको कृतिम मन्दिरभित्र राखेर इश्वर र भूत लागेको र त्यसलाई उतार्न एकलाख रुपैंया र एक तोलाको सुनको औंठी चाहिने भनेका थिए । रोग निको पार्न शिवजी उतार्नु पर्ने र त्यसका लागि पैसा औठी चाहिने र भन्दै निरबस्त्र पोर यौन शोषण गरेको खुलेको दाहालले बताए । प्रहरीका अनुसार शिवजी उतार्न महिलालाई निरवस्त्र पारेपछि यौन सम्पर्क गर्न मन्दिरभित्रै ओछ्यानको व्यवस्था गरिएको छ । पक्राउ धामी र मातालाई प्रहरी हिरासतमा राखेर कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाइएको छ । श्रेष्ठमाथि जवरजस्ती करणी तथा राईमाथि जवरजस्ती करणी दुरुत्साहन ऐन अन्तरगत कारबाही हुने दाहालले बताएका छन् ।